काठमाडौँ, पुस ११ । साफ यू–१९ महिला च्याम्पियनसिप २०२४ को खेल तालिका सार्वजनिक गरिएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बंगलादेशको राजधानी ढाकामा फेब्रुअरी २ देखि ८ सम्म आयोजना हुने खेलको तालिका सार्वजनिक गरेको हो।
आयोजकका अनुसारको उद्घाटन खेलमा बंगलादेश र नेपाल भिड्ने छन्।
नेपालले दोस्रो खेल फ्रेबुअरी ४ मा भुटानसँग र अन्तिम खेल भारतसँग ६ फ्रेबुअरीमा खेल्ने छ। प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भारत र भुटान गरी चार टोलीको सहभागिता रहनेछ। प्रत्येक टोलीले ३/३ खेल खेल्नेछन् र शीर्ष दुई टोली फाइनलमा पुग्ने छन्। फाइनल खेल फेब्रुअरी ८ मा हुनेछन्।
सन् २०१८ मा साफ यू–१८ मा नेपाल उपविजेता बनेको थियो। उक्त प्रतियोगिताको उपाधि भिड्न्तमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो। उक्त प्रतियोगितामा ६ टोली सहभागी थिए। २०२१ मा साफ यू–१९ को नाममा प्रतियोगिता हुँदा नेपाल तेस्रो भएको थियो। त्यतिबेला पाँच राष्ट्रको सहभागिता थियो।
२०२२ मा पुन: साफ यू–१८ को नाममा प्रतियोगिता हुँदा नेपाल तेस्रो भएको थियो। उक्त प्रतियोगिता नेपाल, भारत र बंगलादेशले मात्रै सहभागिता जनाएका थिए। गत संस्करणमा भने ४ राष्ट्रले सहभागिता जनाउँदा उपविजेता बनेको थियो। फाइनल खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो।



