शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कप : सुदूरपश्चिम र बागमती प्लेअफ नजिक

एक्सप्रेस पाना
पौष ११, २०८० बुधबार
  • 294
    SHARES
  • प्रधानमन्त्री कप : सुदूरपश्चिम र बागमती प्लेअफ नजिक

    काठमाडौं, पुस ११ । सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको प्लेअफ सम्भावना बलियो बनाएको छ। बुधबार सम्पन्न खेलमा मधेशलाई ५ विकेटले पराजित गर्दै प्लेअफ सम्भावना बलियो बनाएको हो।

    images

    सुदूरपश्चिम प्रदेशले मधेशलाई ५ विकेटले पराजित गर्‍यो। मधेशले दिएको ८३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले एक बल बाँकी छँदा ५ विकेट गुमाउँदै ८६ रन बनाएको हो। 

    सुदूरपश्चिमको जितमा कविता जैशीले सर्वाधिक २६ रन बनाइन्। उनले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरिन्। ओपनर सम्झना खड्काले १९ बलमा ३ चौकासहित २१ रन बनाइन्। रुवि पोडार १० र लक्ष्मी साउद ९ रनमा अविजित रहिन्।

    images

    सुदूरपश्चिमकी रेवती धामी, बिन्दु रावल र कप्तान रितु कौन्जियाले दोहोरो अंकमा रन बटुल्न सकेनन्। मधेशकी शाक्षी यादव र कविता गौतमले २/२ विकेट लिइन्। पूजा महतोको नाममा १ विकेट रह्यो। 

    May be an image of 5 people and text that says

    त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनायो।  

    मधेशकी ओपनर पूजा महतोले सर्वाधिक २७ रन बनाइन्। उनले ३१ बलमा ४ चौका प्रहार गरिन्। साना प्रविणले अविजित रहँदै ३४ बलमा १ चौकासहित १९ रन बनाइन्।

    रोजी कडारी १० रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। सुदूरपश्चिमकी लक्ष्मी साउदले सर्वाधिक ४ विकेट लिइन्। जानकी थापा र कविता जैशीको नाममा १/१ विकेट रह्यो। 

    लुम्बिनीमाथि बागमतीको जित
    अर्को खेलमा बागमतीले लुम्बिनीलाई ९ रनले पराजित गर्‍यो। बागमतीले दिएको ११० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०० रन मात्रै बनाउन सक्यो। 

    लुम्बिनीकी कप्तान सरस्वती जीएमले सर्वाधिक २९ रन बनाइन्। उनले ३६ बलमा ३ चौका प्रहार गरिन्। 

    कमला जीएम २० रनमा अविजित रहँदा सरस्वती पुन १७ र लक्ष्मी चौधरी ११ रनमा आउट भइन्। लुम्बिनीका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

    बागमतीकी कप्तान अश्मिना कर्माचार्य र खुशी डंगोलले २/२ विकेट लिइन्। संस्कृति फुँयाल, सोनी पाख्रिन र मनिसा उपाध्ययको नाममा १/१ विकेट रह्यो। 

    बागमतीकी करिश्मा गुरुङमात्रै विकेटविहीन रहिन्। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन बनाएको थियो। 

    बागमतीकी ओपनर हेलिसा गुरुङले सर्वाधिक ४६ रन बनाइन्। उनले ४५ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। यशु पाण्डे १२ रनमा अविजित रहँदा बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। 

    लुम्बिनीकी सर्मिला रोक्काले सर्वाधिक ३ विकेट लिइन्। मनिसा राना, कृतिका मरासिनी, मधु डीसी र कमला जीएमको नाममा १/१ विकेट रह्यो। 

    जारी प्रतियोगितामा सबै टोलीले ५/५ खेल खेलिसक्दा एपीएफले शीर्षस्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। उसको १० अंक रहेको छ। ८ अंक जोडेका कोशी र सुदूरपश्चिमको पनि प्लेअफ सम्भावना बलियो बनेको छ। ६ अंक रहेको बागमतीको पनि प्लेअफ सम्भावना उत्तिकै रहेको छ।

    ८ टोली सहभागी प्रतियोगितामा प्रत्येक टोलीले ७ खेल खेल्नेछन्। शीर्ष चारमा रहने टोली प्लेअफमा पुग्नेछन्। जितविहीन कर्णाली प्रदेश २ खेल बाँकी रहँदा प्रतियोगिताबाट बाहिरिसकेको छ। 

    अंक तालिकामा पाँचौँ रहेको लुम्बिनीको ४, छैटौँ स्थानमा रहेको गण्डकीको २ र सातौँ स्थानको मधेशको २ अंक रहेको छ। 

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # प्रधानमन्त्री कप
  • # सुदूरपश्चिम प्रदेश
  • # बागमती प्रदेश
  • # मधेश प्रदेश
  • # लुम्बिनी प्रदेश