शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कप : कोशी प्लेअफमा, लुम्बिनीको सम्भावना न्यून

एक्सप्रेस पाना
पौष १२, २०८० बिहीबार
  • 407
    SHARES
  • प्रधानमन्त्री कप : कोशी प्लेअफमा, लुम्बिनीको सम्भावना न्यून

    सुदूरपश्चिमलाई पराजित गर्दै कोशी प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको प्लेअफ पुगेको छ। बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिमलाई ८ विकेटले पराजित गर्दै कोशीले प्लेअफमा स्थान बनाएको हो।

    images

    सुदूरपश्चिमले दिएको ११९ रनको लक्ष्य पछ्याएको कोशीले १७=४ ओभरमा २ विकेट गुमाउँदै १२२ रन बनायो। कोशीको जितमा कप्तान रुविना क्षेत्री बेलबासे र काजल श्रेष्ठले अर्धशतकीय इनिङ्स खेलिन्।

    काजलले ४८ बलमा ८ चौकासहित ५४ रन बनाइन्। यता, रुविनाले ५५ बलमा ८ चौका र १ छक्कासहित ५१ रन बनाइन्। उनी अविजित रहिन्। पहिलो विकेटका लागि रुविना र काजलले १७.१ ओभरसम्म ११८ रनको साझेदारी गरेका थिए।

    images

    रुविना र काजलको साझेदारी सुदूरपश्चिमकी अनु कडायतले तोडेकी हुन्। उनले १७.१ ओभरमा काजललाई लक्ष्मी साउदबाट क्याच आउट गराइन्। कोशीकी अप्सरी बेगम गोल्डेन डकआउट भइन्। बिमला मलहा ४ रनमा अविजित रहिन्। सुदूरपश्चिमकी अनु कडायतले २ विकेट लिइन्। उनले ३.४ ओभरमा १९ रन खर्चिइन्।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ११८ रन बनाएको थियो। सुदूरपश्चिकी ओपनर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन्। उनले ३९ बलमा ५ चौका प्रहार गरिन्।

    सम्झना खड्का २७ रनमा बोल्ड आउट हुँदा कविता जोशी २६ रन र रेवती धामी २० रनमा अविजित रहिन्। कोशीकी अप्सरी बेगम र सबनम राईले १/१ विकेट लिइन्।

    मधेश प्रदेशको दोस्रो जित
    लुम्बिनीलाई पराजित गर्दै मधेश प्रदेशले प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेशले लुम्बिनीलाई ८ विकेटले पराजित गरेको हो।

    लुम्बिनीले दिएको ९७ रनको लक्ष्य मधेशले ७ बल बाँकी छदा २ विकेट गुमाउँदै पूरा गरेको हो। मधेशकी ओपनर पूजा महतोको अविजित रहँदै सर्वाधिक ६० रन बनाइन्। उनले ५९ बलमा ५ चौका प्रहार गरिन्।

    अर्की ओपनर अनुराधा चौधरी १७ रन बनाउँदा सरस्वती कुमारी १२ रनमा अविजित रहिन्। लुम्बिनीकी कमला जीएम र सुस्मिता भुषालले १/१ विकेट लिइन्।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९७ रन बनाएको थियो। लुम्बिनीकी ओपनर लक्ष्मी चौधरीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाइन्। उनले ६४ बलमा ८ चौका र २ छक्का प्रहार गरिन्। कप्तान सरस्वती जीएमले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    मधेशकी साक्षी यादवले २ विकेट लिइन्। उनले ३ ओभर बलिङ गर्दै १७ रन खचिएकी थिइन्। पूजा महतो, आरती महतो र कविता गौतमले १/१ विकेट लिइन्।

    प्रतियोगितामा सहभागी ८ टोलीले ७ खेल खेल्ने छन्। शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्। अपराजित रहँदै शीर्ष स्थानमा रहेको विभागीय टोली ५ खेलबाट १० अंक बनाउँदै यसअघि नै प्लेअफमा पुगिसकेको छ। एक खेल खेल्न बाँकी कोशीको ६ खेलबाट १० अंक रहेको छ। कोशी एपीएफसँग मात्रै पराजित भएको थियो। उसले अन्तिम खेल शनिबार लुम्बिनी प्रदेशविरुद्ध खेल्ने छ। 

    अंक तालिकाका शीर्ष दुई टोलीले सोझै क्वालिफायर खेल्ने छन्। ६ खेलबाट ८ अंक जोडेको सुदूरपश्चिको पनि प्लेअफको सम्भावना कायमै रहेको छ। सुदूरपश्चिमले अन्तिम खेलमा आगामी शनिबार गण्डकी प्रदेशसँग खेल्ने छ। जारी प्रतियोगिता दोस्रो जित हासिल गरेको मधेश ४ अंक रहेको छ। समान अंक भएपनि लुम्बिनी मधेशभन्दा एक स्थान माथि रहेको छ। लुम्बिनी पाँचौँ स्थानमा रहेको छ। लुम्बिनी र मधेशले अन्तिम खेल कर्णालीसँग खेल्ने छ। लुम्बिनीको पनि प्लेअफ सम्भावना गणितिय रूपमा रहेको छ। उसलाई अन्तिम खेल जितेर मात्रै पुग्दैन, अन्य टोलीको नतिजा पनि भर पर्नुपर्ने छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # कोशी प्रदेश
  • # सुदूरपश्चिम प्रदेश
  • # मधेश प्रदेश
  • # लुम्बिनी प्रदेश