शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कप:  प्लेअफमा पुग्ने चारै टोलीको टुंगो लाग्यो

एक्सप्रेस पाना
पौष १२, २०८० बिहीबार
  • 468
    SHARES
  • प्रधानमन्त्री कप:  प्लेअफमा पुग्ने चारै टोलीको टुंगो लाग्यो

    काठमडौं, पुस १२ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा पुग्ने चारै टोलीको टुंगो लागेको छ। बिहीबार दिनको दोस्रो खेलमा बागमतीले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेसँगै प्लेअफ पुग्ने चारै टोलीको छिनोफानो भएको हो।

    images

    ५ खेल खेलको विभागीय टोली एपीएफको १० अंक रहेको छ। एपीएफ अपराजित रहँदै शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको कोशीको ६ खेलबाट ८ अंक रहेको छ। कोशी एपीएफसँग मात्रै पराजित भएको थियो। उसले अन्तिम खेल शनिबार लुम्बिनी प्रदेशविरुद्ध खेल्ने छ।

    हालसम्मको अंक तालिकालाई हेर्दा एपीएफ र कोशीले शीर्ष दुईमा रहेर सोझै क्वालिफायर खेल्ने सम्भावना उच्च छ। 

    images

    उता, ८/८ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका सुदूरपश्चिम र बागमती प्रदेशले भने एलिमिनेटर खेल्ने सम्भावना रहेको छ। उनीहरूले १/१ खेल खेल्न बाँकी रहेको छ। क्वालिफायर जित्ने टोली सिधै फाइनलमा पुग्ने छ भने पराजित टोलीले दोस्रो एलिमिनेटर खेल्ने छन्। पहिलो एलिमिनेटरमा जित हासिल गर्ने टोलीले क्वालिफायरमा पराजित टोलीसँग खेल्ने छ। 

    योसँगै ४/४ अंक रहेका लुम्बिनी र मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिसकेका छन्। उनीहरूले १/१ खेल खेल्न बाँकी छ। 

    बागमतीले बिहीबार आफ्नो छैटौँ खेलमा कर्णालीले दिएकाे ४३ रनको लक्ष्य पछ्याएको थियो। उक्त लक्ष्य बागमतीले ४.५ ओभरमै पूरा गरेको हो। 

    बागमतीकी ओपनर यशु पाण्डेले अविजित रहँदै सर्वाधिक २५ रन बनाइन्। उनले २० बलमा ४ चौका प्रहार गरिन्। अर्की ओपनर हेलिसा गुरुङले ९ बलमा १ चौकासहित १३ रन बनाइन्। 

    त्यसअघि मूलपानी मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले १३.४ ओभरमा सबै विकेट गुमाउँदै ४२ रन मात्रै बनाउन सक्यो। 

    कर्णालीकी श्रुती बूढाले सर्वाधिक १६ रन बनाइन्। बिना थापाले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। 

    बागमतीकी खुशी डंगोलले सर्वाधिक ४ विकेट लिइन्। संस्कृती फुँयालले २ विकेट लिँदा सोनी पाख्रिन र विपिसा शाहीको नाममा १/१ विकेट रह्यो। कर्णाली जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट