काठमडौं, पुस १२ । गण्डकी प्रदेशलाई पराजित गर्दै विभागीय टोली एपीएफ एक खेल अगावै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको क्वालिफायरमा पुगेको छ। बिहीबार सम्पन्न खेलमा गण्डकी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ क्वालिफायरमा पुगेको हो।
एपीएफ जारी प्रतियोगितामा अपराजित रहने एक मात्रै टोली हो। उसले सुदूरपश्चिमलाई ९, मधेशलाई १० र कोशीलाई ८ विकेटले पराजित गरेको थियो।
यस्तै, लुम्बिनीलाई ९० र कर्णालीलाई ९२ रनले पराजित गरेको थियो। शीर्ष स्थानमा रहेको एपीएफको ६ खेलबाट १२ अंक रहेको छ। उसले अन्तिम खेल बागमती प्रदेशसँग शनिबार खेल्ने छ।
एपीएफले दिएको १२८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७५ रन मात्रै बनाउन सक्यो।
गण्डकीकी सृष्टि जैशी र सुमन खतिवडाले १७/१७ रन बनाइन्। ज्योत्स्नाका मरासिनीले १३ र सृजना पौडेलले ११ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
एपीएफकी नेरि थापाले सर्वाधिक ४ विकेट लिइन्। सोनु खड्काले २ विकेट लिँदा करुणा भण्डारीको नाममा १ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १२७ रन बनायो।
एपीएफकी ममता चौधरीले अविजित रहँदै सर्वाधिक ४० रन बनाइन्। उनले ३३ बलमा ६ चौका प्रहार गरिन्।
रोमा थापा ३१ रनमा अविजित रहँदा कप्तान सीता रानामगर १९ र इन्दु बर्मा १० रनमा आउट भइन्। ज्योति पाण्डेले भने ८ रन बनाइन्।
गण्डकीकी ज्योत्स्नाका मरासिनीले दुई विकेट लिइन्। कुसुम गोदारको नाममा १ विकेट रह्यो। गण्डकी प्रतियोगिताबाट बाहिरिइसकेको छ। उसले ६ खेलमा २ अंकमात्रै जोड्यो। गण्डकीले जारी प्रतियोगितामा कर्णालीलाई ४४ रनले पराजित गरेको थियो।



