शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल सुपर लिग: पोखरालाई पराजित गर्दै ललितपुर फाइनलमा

एक्सप्रेस पाना
पौष १२, २०८० बिहीबार
  • 313
    SHARES
  • नेपाल सुपर लिग: पोखरालाई पराजित गर्दै ललितपुर फाइनलमा

    काठमडौं, पुस १२ । पोखरा थन्डर्सलाई अतिरिक्त समयमा पराजित गर्दै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ। 

    images

    त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा १० खेलाडीमा सिमित ललितपुरले पोखरा थन्डर्सलाई २-१ गोल अन्तरले पराजित गर्दै धनगढीसँगको भेट पक्का गरेको हो। ललितपुरको जितमा इमोन इजिकिल र कुशल देउवाले गोल गरे। पोखराका स्टेफेन कोजो पापाले गरेको गोल सन्त्वना रह्यो।

    खेलको १९औँ मिनेटमा निखिल कदमले प्रहार गरेको कर्नर बललाई इमोनले हेडर गरेका थिए। तर, उक्त बललाई पोखराका डिफेन्डरले विफल बनाइदिए। २९औँ मिनेटमा पोखराले प्राप्त गरेको कर्नरमा सुरजज्यू ठकुरीको प्रहारमा मोसेस ग्याम्बाको हेडर पोस्टनजिकबाट बाहिरियो।

    images

    ३४औँ मिनेटमा ललितपुर १० खेलाडीमा सिमित भयो। निखिल कदमले दोस्रो पहेँलो कार्ड प्राप्त गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएका हुन्। उनले पोखराका आयुष घलानलाई फउल गरेपछि दोस्रो पहेँलो कार्ड पाएका हुन्। यसअघि खेलको २४औँ मिनेटमा पोखराका खेलाडीसँग घम्साघम्सी हुँदा उनले पहिलो कार्ड देखाइएको थियो।

    पहिलो हाफको अन्तिम मिनेटमा इमोनको गोलमा ललितपुरले अग्रता लियो। पापा केबेको लामो पासमार्फत आएको बललाई नियन्त्रणमा लिँदै इमोनले जाली चुमाए।

    ५३औँ मिनेटमा पोखराका आयुषले मुभ बनाउँदै डीबक्सबाहिरबाट गरेको प्रहार पोस्टनजिकबाट बाहिरियो। दोस्रो हाफमा आक्रमक बनेको पोखरा ७१औँ मिनेटमा स्टेफेनको गोलमार्फत खेलमा फर्कियो। जोए आइडोले दिएको क्रसलाई उनले सदुपयोग गर्दै आफ्नो टोलीलाई खेलमा फर्काएका हुन्।

    निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको पहिलो मिनेटमै आयुषलाई डीबक्स बाहिर लडाएपछि पोखराले फ्रिकिक प्राप्त गरेको थियो। जसलाई सुरजज्यू ठकुरीले सदुपयोग गर्न सकेनन्।

    ललितपुरले ९९औँ मिनेटमा कुशलको गोलमार्फत् अग्रता लियो। पापा केबेले दिएको बललाई अन्नत तामाङले डीबक्सभित्र हेडर गरेका थिए। पोखराका डिफेन्डरहरू अल्झिएको बेला कुशलले बललाई जाली चुमाए।

    यसअघि पहिलो क्वालिफायरमा पोखरा धनगढीसँग पराजित भएको थियो। ललितपुर सिटीले इलिमिनेटरमा साविक विजेता काठमाडौँ रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको थियो। जितसँगै लतितपुरले उपाधिका लागि शनिबार धनगढीको सामना गर्नेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल