काठमाडौं, पुस १६ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपीएफ र कोशी प्रदेश भिड्ने भएका छन्।
सोमबार सम्पन्न खेलमा सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै कोशीले एपीएफसँग भेट पक्का गरेको हो। सुदूरपश्चिमले दिएको ८९ रनको लक्ष्य पछ्याएको कोशीले १३ ओभरमा १ विकेट गुमाउँदै ९२ रन बनायो।
कोशीकी ओपनर काजल श्रेष्ठले अविजित रहँदै सर्वाधिक ३८ रन बनाइन्। उनले ३८ बलमा ७ चौका प्रहार गरिन्। अर्की ओपनर तथा कप्तान रुविना क्षेत्री बेलबासेले २३ बलमा ७ चौका र १ छक्कासहित ३७ रन बनाइन्।
अप्सरी बेगम २१ बलमा २ चौकासहित १२ रनमा अविजित रहिन्। सुदूरपश्चिमकी लक्ष्मी साउदले १ विकेट लिइन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८८ रन बनायो।
सुदूरपश्चिमकी सम्झना खड्काले सर्वाधिक २५ रन बनाइन्। उनले २४ बलमा ४ चौका प्रहार गरिन्। ओपनर बिन्दु रावल १७ रनमा रनआउट हुँदा कविता जैशीले १५ रन बनाइन्।
सुदूरपश्चिमका अन्य ब्याटरको प्रदर्शन राम्रो हुन् सकेन। कोशीकी संगिता राईले सर्वाधिक २ विकेट लिइन्। सबनम राई, निशा शाह र अलिसा खडियाले १/१ विकेट लिइन्।
एपीएफ जारी प्रतियोगितामा अपराजित रहँदै उपाधिनजिक पुगेको हो। कोशी भने लिग चरणमा एपीएफसँग ८ र पहिलो क्वालिफायरमा ५३ रनले पराजित भएको थियो।
एपीएफ र कोशीले उपाधिका लागि बुधबार कीर्तिपुरमा खेल्नेछन्। खेल बिहान ११ बजेदेखि शुरू हुनेछ।



