सिन्धुपाल्चोक, माघ १ । प्रथम प्रवीण घले स्मृति कप तथा मुग ल्हो ल्होसार खुला ७ ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रोयल्स फेमेलि चौताराले बाह्रदेवी युवा क्लब बाह्रबिसेसँग खेल्नेछ।
चौतारा टुँडिखेलस्थित मिनी रंगशालामा आज सोमबार साडे एक बजे हुने खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यमा हुनेछन्।
यसअघि शनिबार सम्पन्न सेमिफाइनल अन्तर्गत पहिलो खेलमा बाह्रदेवी युवा क्लबले गाती युवा क्लबलाई तथा रोयल्स फेमेली चौताराले सिन्धुपाल्चोक फुटबल क्लब लामसाँघुलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। बाह्रदेवी गाती युवा क्लबलाई १-० गोलले पराजित गरेको थियो।
दोस्रो तथा अन्तिम सेमिफाइनलमा रोयल्स फेमेलीले सिन्धुपाल्चोक फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गरेको थियो।
यस प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १५१ रुपैयाँ तथा उपविजेता ७५ हजार ५५५ रुपैयाँ, ट्रफी र मेडल पाउने छन्। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, खेलाडी र सर्वाधिक गोलकर्ताले नगदसहित ट्रफी पाउने छन्।



