काठमाडौँ, १ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई एक सय २६ रनको भारी आन्तरले पराजित गरेको छ।
जीतका लागि तीन सय २१ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश ४८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ९४ रनमा समेटियो। मधेसका लागि पवन सराफले ८३ बलमा सात चौका र तीन छक्कासहित सर्वाधिक ६५ रन बनाए। त्यस्तै मयन यादवले ३२ बलमा ६ चौकासहित ३२ बनाए। राजेश यादवले ४८ बलमा ५ चौकासहित ३२ रनमा अविजित रहँदा रुपेश सिंहले १८, विशाल पटेलले १७ तथा हरिशङ्कर शाहले चार रन बनाए।
आर्मीका लागि साहब आलमले चार विकेट लिए भने सोमपाल कामीले दुई तथा जितेन्द्र मुखिया र कुशल मल्लले समान एक-एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा तीन सय २० रनको योगफल बनायो। आर्मीका लागि विनोद भण्डारीले ९३ बलमा नौ चौका र छ छक्कासहित एक सय १३ रनको शतकीय पारी खेले। यसैगरी सन्तोष कार्कीले ४२, कुशल मल्ल र विवेक यादवले समान ३७, इमरान शेखले २६, भीम सार्कीले १८ तथा बसिर अहमदले १६ रन बनाए।
आर्मीका लागि पाँचौ विकेटका लागि विनोद र कुशललले एक सय ३२ तथा पहिलो विकेटका लागि सन्तोष र इमरानले ५३ रनको साझेदारी गरेका थिए।
मधेसका लागि रन्जित कुमारले पाँच विकेट लिए भने विशाल पटेलले दुई तथा राजेश यादव र रुपेश सिंहले समान एक–एक विकेट लिए।



