शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एपीएफविरुद्ध मधेशको ऐतिहासिक जित

एक्सप्रेस पाना
माघ ४, २०८० बिहीबार
  • 286
    SHARES
  • एपीएफविरुद्ध मधेशको ऐतिहासिक जित

    काठमाडौँ, माघ ४ । मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय एपीएफमाथि ऐतिहासिक जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा मधेशलले एपीएफलाई ५ विकेटले पराजित गरेको हो। 

    images

    एपीएफविरुद्ध प्रधानमन्त्री कपमा मधेशको यो पहिलो जित हो। सन् २०१८ मा एपीएफले समूह चरणको खेलमा मधेशलाई डकवर्थ–लुइस नियम (डीएल)मा ९६ रनले पराजित गरेको थियो।

    पछिल्लो संस्करणमा भने यी दुई टोली सेमिफाइनलमा भेटेका थिए। उक्त खेलमा पनि एपीएफले मधेशलाई ७ विकेटले पराजित गरेको थियो।
    मधेशका तीन खेलाडीको अर्धशतक एपीएफले दिएको २४७ रनको लक्ष्य पछ्याएको मधेशले ४८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

    images

    मधेशलाई जित दिलाउन रुपेश सिंह, पवन सर्राफ र नीरज यादवले अर्धशतक प्रहार गरे। रुपेशले ७२ बलमा ४ चौका र ३ छक्कासहित अविजित रहँदै ७२ रन जोडे। पवनले ६४ रन बनाउँदा नीरजले ५२ रन बनाए। ओपनर अनिल साह २९ रनमा आउट हुँदा अभिषेक तिवारी १३ रन अविजित रहे। एपीएफका कप्तान रोहितकुमार पौडेल र रमेश कुर्मीले २/२ विकेट लिँदा १ विकेट श्याम ढकाल (मौसम)को नाममा रह्यो।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन बनाएको थियो। एपीएफका ओपनर आशिफ शेख र कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे।

    ओपनर प्रज्वल शाही खाता नै नखोलि पेभिलियन फर्किएपछि आएका रोहितले आशिफसँग दोस्रो विकेटका लागि १३१ रनको साझेदारी गरेका थिए। रोहितले ७४ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाए। आशिफले ६९ बलमा ५ चौका र ३ छक्कासहित ५९ रन बनाए।

    यता, सन्दीप जोरा २० रनमा आउट हुँदा ४९ रन बनाएका अमर रौटेला अविजित रहे। एपीएफका अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन। एपीएफले २९ रन अतिरिक्त प्राप्त गरेको थियो। मधेशका पवन सर्राफ र रुपेश सिंहले ३/३ विकेट लिए। रञ्जित कुमारले २ विकेट लिँदा अरनिको यादवको नाममा १ विकेट रह्यो।

    जितसँगै मधेशले ४ खेलबाट ४ अंक जोडेको छ। एक खेल कम खेलेको एपीएफको ४ नै अंक छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # प्रधानमन्त्री कप