शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कप: मधेश, बागमती र एपीएफको जित

एक्सप्रेस पाना
माघ ११, २०८० बिहीबार
  • 333
    SHARES
  • प्रधानमन्त्री कप: मधेश, बागमती र एपीएफको जित

    माघ ११ काठमाडौँ । मधेश, बागमती प्रदेश र विभागीय टोली एपीएफले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता जित हासिल गरेका छन्। बिहीबार सम्पन्न खेलमा मधेशले गण्डकी, बागमतीले सुदूरपश्चिम र एपीएफले लुम्बिनी प्रदेशलाई पराजित गरेको हो। 

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मधेशले गण्डकीलाई १४५ रनले पराजित गर्‍यो। मधेशले दिएको ३३६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १९० रन मात्रै बनाउन सक्यो।

    गण्डकीका इश्वर क्षेत्री र कमल परियारले २७/२७ रन बनाए। कृष आयर २६, चन्द पौडेल २३, रोशन गौतम २२ रनमा आउट हुँदा समिर कँडेल र मुस्कान थापा १८/१८ रनमा आउट भए।

    images

    मधेशका रञ्जित कुमारले ४ विकेट लिए। हरिशंकर शाहले ३ विकेट लिँदा प्रदीप पासवानको नाममा २ र राजेश यादवको नाममा १ विकेट रह्यो।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको मधेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३५ रन बनायो। 

    मधेशका अनिल साहले सर्वाधिक ११७ रन बनाए। पवन सर्राफ ४०, रुपेश सिंह ३२, मयांक यादव २७ रनमा आउट हुँदा अरनिको यादव ६३ र अभिषेक तिवारी २७ रनमा अविजित रहे।

    गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिएर कृष्ण पौडेल र कमल परियारको नाममा १/१ विकेट रह्यो।

    बागमतीको पाँचौँ जित
    मूलपानीमा सम्पन्न अर्को खेलमा बागमतीले सुदूरपश्चिमलाई ९७ रनले पराजित गर्‍यो। बागमतीले दिएको १५० रन पछ्याएको सुदूरपश्चिमले ३०.३ ओभरमा सबै विकेट गुमाउँदै १५० रन मात्रै बनाउन सक्यो।

    सुदूरपश्चिमका किरण ठगुन्ना र नरेन भट्टले ४१/४१ रन प्रहार गरे। खड्क बोहरा २१ रनमा पेभिलियन फर्किए।

    बागमतीका विपिन आचर्या र सूर्य तामाङले ३/३ विकेट लिए। सोनु देवकोटा, कृजल गुरुङ र रिजन ढकालको नाममा १/१ विकेट रह्यो। 

    त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको थियो। 

    बागमतीका आसुतोष घिरोइया ५४, ऋत गौतम ४४, अशोक पौडेल ३१, रविन जोशी २४ र प्रतिश जीसी १७ रनमा आउट हुँदा सोनु देवकोटा २८ रनमा अविजित रहे।

    सुदूरपश्चिमका नारायण जैशी र शेर मल्लले ३/३ विकेट लिए। विकास आग्रीको नाममा २ विकेट रहँदा १ मिलन बोहराको नाममा रह्यो। 

    एपीएफ छैटौँ स्थानमा
    भैरहवामा भएको अर्को खेलमा एपीएफले लुम्बिनीलाई ७ विकेटले पराजित गर्‍यो। लुम्बिनीले दिएको १३३ रनको लक्ष्य पछ्याएको एपीएफले २२.३ ओभरमा ३ विकेट गुमाउँदै १३५ रन बनायो। 

    एपीएफका रोहितकुमार पौडेल ५२ र लोकेश बम १६ रनमा पेभिलियन फर्किँदा पूर्ण विक ३३ र अमर रौटेला ८ रनमा अविजित रहे।

    लुम्बिनीका मोहम्मद हुसेन, कृष्ण कार्की र इक्लाख अहमदले १/१ विकेट लिए। 

    त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले ४१ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनायो। 

    लुम्बिनीका मृणाल गुरुङ ३४, विराट भण्डारी २३ र प्रज्वल थापाले ११ रन बनाउँदा दिलसाद अली ३९ रनमा अविजित रहे।

    एपीएफका रमेश कुर्मीले सर्वाधिक ५ विकेट लिए। भुवन कार्कीले ३ विकेट लिँदा रोहितकुमार पौडेल र श्याम ढकाल मौसमको नाममा १/१ विकेट रह्यो। 

    जितसँगै बागमती ८ खेलबाट १० अंक जोडेर शीर्ष दुईमा उक्लिएको छ। समान अंक रहेको मधेश तेस्रो स्थानमा रहेको छ। एपीएफ भने ६ खेलबाट ६ अंकसहित छैटौँ स्थानमा छ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री कप
  • # एपीएफ
  • # गण्डकी प्रदेश
  • # सुदूरपश्चिम प्रदेश
  • # बागमती प्रदेश
  • # मधेश प्रदेश
  • # लुम्बिनी प्रदेश
  • # एपिएफ क्लब