काठमाडौँ, १३ माघ । विदेशी पाहुना टोली भुटानको पारो फुटबल क्लबलाई पराजित गर्दै थ्री स्टार क्लब पोखरा रङ्गशालामा जारी २३औँ संस्करणको आहा १ रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार यस सिजनको पहिलो क्वाटरफाइनलखेलमा थ्री स्टारले पारोलाई २-० गोलले पराजित गरेको हो।
खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी सकिएपछि खेलको अतिरिक्त समयमा धकेलिएको थियो। खेलको निर्णय पेनाल्टी सुटआउटमा हुने आकलन गरिएको थियो।
तर, खेल सकिन छ मिनेटको समय बाँकी रहँदा थ्री स्टारले पाहुनाविरुद्ध गोलको खाता खोल्यो । पहिलो गोलपछि उत्साहित थ्री स्टारले केही समयमै पुनः अर्को गोल थप्यो। अन्तिम केही मिनेट सम्हालिन नसक्दा पाहुना टोली पारो थ्री स्टार क्लबसँग २-० गोलअन्तरले पराजित हुँदै घर फर्किन बाध्य बन्यो।
थ्री स्टारका लागि दुवै गोल आशीष चापागाईँले गरे। नियमित समयमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फालेका थिए। थ्रिस्टार क्लबले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारालाई पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको थियो। पाहुना टोली पारो भने सिधै क्वाटरफाइनल खेलेको हो।
प्रतियोगिताअन्तर्गत आइतबार दोस्रो क्वाटरफाइनलको खेल सङ्कटा क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच हुनेछ । यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइलन खेल माघ २० गते हुनेछ। प्रतियोगितको विजेताले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन्।
यसैगरी उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ।



