माघ, १७ चौतारा (सिन्धुपाल्चोक) । चौतारा स्पोर्टिङ क्लबको आयोजनामा हुने दोस्रो संस्करणको नगरस्तरीय अन्तर मावि ७ 'ए' साइड फुटबल प्रतियोगिता २०८० को खेल तालिका सार्वजनिक भएको छ।
आयोजना स्पोर्टिङ क्लबले बिहीबारबाट शुरू हुने प्रतियोगिताका खेल तालिका बुधबार सार्वजनिक गरेको हो। प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा श्रीज्ञान मन्दिर नमुना मावि मेलचौरले श्री कालीदेवी मावि कदमबासको सामना गर्नेछ। यो खेल बिहिवार अर्थात् भोलि बिहान ११ बजे हुनेछ। प्रतियोगिताका सबै खेल चौताराको टुँडिखेलस्थित मिनी रंगशाला हुनेछ।
"खेल र खेलाडी हाम्रो शान, सक्षम खेलाडी उत्पादन हाम्रो अभियान" भन्ने नाराका साथ शुरू हुने यस प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका भित्रका विद्यालयहरूको सहभागिता रहनेछ।
प्रतियोगिताको उद्घाटन समारोहमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सञ्चालन हुने पनि आयोजक चौतारा स्पोर्टिङ क्लबले जनाएको छ।
यस्तै, गत संस्करणको उपाधि श्री कृष्ण रत्न गंगा मावि चौताराले फाइनलमा श्री जुगल बोर्डिङ हाई स्कूल चौतारालाई २-१ ले हराउँदै उपाधिसँगै नगद विजेताले १५ हजार जितेका थिए। यसपटक भने विजेताले ३० हजार र उपविजेता २० हजार ट्रफी मेडल पाउनेछन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकर, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कारमा ट्रफी प्रदान गरिने आयोजक चौतारा स्पोर्टिङ्गले जनाएको छ। नगर खेलकुद विकास समिति र चौतारा साँगाचोकगढी नगरपालिका सह-आयोजक रहेको प्रतियोगितालाई सिन्धुपाल्चोक जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको छ।
यस्तो छ सहभागी विद्यालयहरू:
श्री वनदेवी मा.वि. भुलभुले, श्री इन्द्रावती मा.वि. भिमटार, श्री कृष्ण रत्न गंगा मा.वि. चौतारा, श्री जुगल बोर्डिङ हाई स्कूल चौतारा, श्री कुण्डला देवी मा.वि. ठूलोसिरुवारी, श्री जनविकास मा.वि. साँगाचोक, श्री सेतीदेवी पन्चकन्या मा.वि. कुविण्डे, श्री कालीदेवी मा.वि. कदमबास, श्री सेतीदेवी मा.वि. स्याउले, श्री सिद्दिकमला देवी मा.वि. पिपलडाँडा, श्री इर्खु मा.वि. इर्खु, श्री सिद्दि गणेश मा.वि. सानोसिरुवारी, श्री डडुवा भवानी शंकर मा.वि. डडुवा, श्री ज्ञान मन्दिर नमुना मा.वि. मेलचौर रहेका छन्।



