पोखरा, १९ माघ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबले आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि आ आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । खेलअघि शुक्रबार आयोजना भएको पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधिमाथि दाबेदारी प्रस्तुत गरेका हुन् । पोखरा रंगशालामा खेल शनिबार दिउँसो १ बजे शुरू हुँदै छ ।
आर्मीका प्रशिक्षक मेघराज केसीले यस पटक इतिहास दोहोर्याउन नभएर बनाउन आएको बताए । आर्मी सन्तुलित टोली भएको कारण इतिहास बनाउनेमा उनी आशावादी देखिए । “हामीले प्रतियोगिताका लागि राम्रो तयारी गरेका छौँ । आर्मी सन्तुलित टोली लिएर पोखरा आएको छ । हामी इतिहास दोहोर्याउन चाहँदैनौ । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रिने छौँ,” प्रशिक्षक केसीले ।
यसपटक प्राय: सबै टोलीले युवा खेलाडीलाई मौका दिइरहेका छन् । उनीहरूले राम्रो प्रदर्शन गरिरहेको केसी बताउँछन् । आर्मीले पनि नयाँ खेलाडीका साथ पोखरा उत्रिएको उनले जानकारी दिए । प्रशिक्षकको रूपमा दुई पटक उपाधि जितिसकेका कारण आफ्नो लक्ष्य भनेको तेस्रो पटक च्याम्पियन बन्ने रहेको उनले सुनाए ।
जारी प्रतियोगितामा आर्मीले राइजिङ स्टार एफसीलाई १–०, साविक विजेता संकटालाई ३–० र चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । आर्मीका लागि दिनेश हेन्जनले सर्वाधिक तीन गोल गरेका छन् ।
यसैगरी आर्मीका कप्तान भरत खवास पनि विगतका गल्तीहरूलाई सुधार्दै उपाधि उचाल्ने लक्ष्य रहेको सुनाए । “सबै टोली उपाधि जित्ने लक्ष्य हुन्छ । यसअघि पटक पटक फाइनल पुगेर पनि उपाधिबाट वञ्चित भएका थियौँ। विगतमा केही मिहिनेत नपुगेको जस्तो लाग्छ । तर यसपटक फाइनलमा आफ्नो तर्फबाट सकेको दिने प्रयास हुनेछ,” उनले भने ।
आयोजक सहारा क्लबलाई २–१, भुटानको पारो एफसीलाई २–० र जावलाखेल यूथ क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थ्री स्टार पनि उपाधि जित्ने लक्ष्यमै मैदान उत्रिएको छ । उसका स्टार फरवार्ड आशिष चापागाईँले सर्वाधिक दुई गोल गरेका छन् । उनले चर्च ब्वाइज युनाइटेडबाट ‘ए’ डिभिजन लिग खेलेका थिए । आशिषजस्तै अन्य क्लबका खेलाडी बटुलेर थ्री स्टारले टोली बनाएकोले त्यसको फाइदा लिने भरत बताउँछन् ।
“टोलीमा तालमेल मिलिरहेको छ । हामी फेरि उपविजेता मै सीमित हुन चहदैनौ । अरू क्लबले खेलाडी बटुलेर टोली तयार पारेका छन् । तर हामीसँग सेट टोली छ। त्यसको फाइदा उठाउँदै जसरी पनि उपाधि जित्ने छौँ,” उनले भने ।
थ्री स्टारका डेब्यू प्रशिक्षक विक्रम लामाले आफ्नो गुरुविरुद्ध फाइनल खेल्न पाउनु सुनौलो अवसर रहेको सुनाए। ‘ए’ डिभिजन लिगमा उनी थ्री स्टारको कप्तान रहँदा केसी ‘टचलाइन’मा उभिएका थिए । केसीले सिकाएको कुरालाई नै फाइनल खेलमा लागु गर्ने लामाले बताए ।
“हिजो उहाँको निर्देशनमा मैदान भित्र खेल्ने गर्थे । अहिले मैदान बाहिर खेल्ने अवसर मिलेको छ। म उहाँले सिकाएका कुरालाई फाइनल खेलमा लागु गर्ने प्रयास गर्नेछु । यो प्रतियोगिता मेरो प्रशिक्षण करिअरमा अभ्यासको रूपमा रहेको छ,” उनले भने ।
थ्री स्टारको टोलीमा युवा खेलाडी रहेको कारण एक अर्कासँग सँगै खेलेको अनुभव नभएकाले पहिलो खेलमा केही गाह्रो भएको उनले बताए । तर अहिले टोलीको तालमेल मिलिरहेको उनले सुनाए । तर केही कमी कमजोरीहरू रहेको र त्यसलाई सुधार गर्दै फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रयास रहने उनले बताए ।
थ्री स्टारले हालसम्म ६ पटक फाइनलमा पुगेको छ । जसमा ५ पटक च्याम्पियन बनेको छ। यसै गरी आर्मीले यसअघिका चार वटै फाइनलमा पराजय बेहोरेको छ । आर्मी नियमित प्रशिक्षण गरिरहेको राम्रो टोली रहेको थ्री स्टारका कप्तान विराट महर्जनले बताए । तर, थ्री स्टार पनि कमजोर टोली नरहेको उनी बताउँछन् । त्यसैले फाइनल खेल रोमाञ्चक हुनेमा उनी आशावादी देखिए ।
“टोलीमा सबै खेलाडी सकारात्मक सोच राख्ने खेलाडी छन् । सबैमा केही गर्नुपर्छ भन्ने जोस छ । आर्मी राम्रो टोली हो । उनीहरूले नियमित प्रशिक्षण गरिहरेका छन्। तर हामी पनि कमजोर छैनौँ । फाइनल निकै रोमाञ्चक हुने अपेक्षा छ। हामी उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने छौँ,” उनले भने ।



