माघ, २० पोखरा । २३औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप च्याम्पियन विभागीय टोली त्रिभुवन आर्मी क्लबका डिफेन्स विमल पाण्डे सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
शनिबार सम्पन्न आहा राराको फाइनल खेलमा थ्री स्टार क्लबलाई हराउँदै पहिलोपटक उपाधि दिलाउन महत्त्वपूर्ण भुमिका खेले पाण्डे सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै टेल्जी स्कुटर प्राप्त गरे ।
यस्तै, उनी प्रतियोगिताकै सर्वोत्कृष्ट डिफेन्स पनि घोषित हुँदै २५ हजार नगदसहित ट्रफी पनि हात पारे । अन्य विधागत अवार्डमा वर्चश्व च्याम्पियन टिम आर्मीका सर्वोत्कृष्ट खेलाडीसहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, फवार्ड र प्रशिक्षक विधामा पनि उत्कृष्ट सावित भयो ।
आर्मीकै दिनेश हेन्जन ३ गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने । यता, जिलेस्पिजंग कार्की उत्कृष्ट फरवार्ड घोषित भए । यसैगरी आर्मीलाई पहिलो पटक आहा ! राराको उपाधि जिताएका प्रशिक्षक मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित भए ।
आर्मीका फरवार्ड भरत खवास र थ्री स्टारका गोलकिपर अविशेक बरालले पब्लिक च्वाइस अवार्ड पाउँदा आर्मीका समित श्रेष्ठ प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक बनेका छन् ।
प्रतियोगितामा फेयर प्ले अवार्ड भने जावलाखेल युथ क्लबले जित्यो । जावलाखेल यस प्रतियोगिताको पहिलो खेलमा मछ्रिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङदी फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । तर, सेमिफाइनलमा जावलाखेल थ्री स्टारसँग १-० गोलले पराजित हुँदै बाहिरिएको थियो। उत्कृष्ट मिडफिल्डर थ्री स्टारका विवेक पौडेल चुनिएका छन् ।
सर्वाधिक गोलकर्ता दिनेश हेन्जन पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनलमा थ्री स्टारमाथि ३-० को सहज जित निकाल्दै आर्मी पहिलो पटक च्याम्पियन बनेको थियो ।



