काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुने बताएका छन्।
सोमबार ललितपुरको गोदावारी सुरू भएको महासमिति बैठक उद्घाटन समारोहमा बोल्दै भविष्यमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार निर्णय लिन सक्ने बताएका हुन ।
उनले अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प नभएको बताए। वर्तमान गठबन्धनलाई निरन्तरता दिनु आफुहरुको राजनीतिक जिम्मेवारी रहेको उनको भनाई छ ।
देउवाले भने, ‘भविष्यमा राजनीतिक गर्ने कि नगर्ने भन्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतको ठोस मूल्यांकनमा त्यसैबेला निर्णय लिनसक्ने छ ।’ ‘अहिले हामी गठबन्धनको अभ्यासमा छौं। गठबन्धन सरकार बनाउनका लागि १० महिनाअघि मात्र बनेको हैन। प्रतिनिधि सभा विघटन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम भएपछि यसको रक्षाका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको हो,’ उनले भने, ‘वर्तमान सरकार त्यसैको निरन्तरता हो। महासमितिमा पेश भएको सबै दस्तावेजले गठबन्धनको विषयलाई समेटिएको छ। वर्तमान गठबन्धन सबैको अग्रसरतामा संविधानको रक्षाको उद्देश्यले बनेको हो।
सभापति देउवाले नेपाली कांग्रेसको विधानलाई समय सापेक्ष बनाउन संशोधनको आवश्यकता भएको बताए।



