शनिबार, श्रावण ३० गते २०८३
images
images

राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस्:राष्ट्रपति पौडेल

एक्सप्रेस पाना
फाल्गुण २५, २०८० शुक्रबार
  • 261
    SHARES
  • राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस्:राष्ट्रपति  पौडेल

    काठमाडौँ । ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा  राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

    images

    राष्ट्रपति पौडलले आज जारी गर्नुभएको शुभकामना सन्देशमा महिलाको हक, अधिकार, समानता, सशक्तीकरणका साथै थप ऊर्जा र उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका हुन् ।

    सन्देशमा भनिएको छ, “महिला सम्मानप्रति पूर्ण संवेदनशील भई कार्य गर्न प्रेरित गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितासहित सारभूत समानता कायम गरी लैङ्गिक समानतायुक्त राष्ट्र निर्माणमा क्रियाशील सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्था एवम् अधिकारकर्मीलाई थप उर्जा र उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।”

    images

    राष्ट्रपति पौडेलले उक्त अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक, अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्णमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

    “परम्पराका नाममा समाजमा कायम रहेका खराब अभ्यासहरू जस्तै बोक्सी, छाउपडी, बालविवाह, दाइजो तथा तिलकजस्ता प्रथाले महिला, किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना निर्मूल गर्न अझै पनि थप कार्यक्रम तय गरी कार्यान्वयन गर्न जरूरी देखिन्छ”, शुभकामना सन्देशमा भनिएको छ, “महिला विरूद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आआफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा आह्वान गर्दछु ।”

    विश्वभरि विभिन्न क्षेत्रमा कार्य गर्ने महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै महिलालाई सम्मान दिनुका साथै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने, महिलालाई शिक्षित र आत्मनिर्भर बनाउनेलगायतका उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आएको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

    राष्ट्रपति पौडेलले जारी गर्नुभएको सन्देशमा भनिएको छ, “लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने महसुस गरेको छु ।”

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति रामचन्द्र पौडेल