काठमाडौं । प्रदर्शमा आइरहेको नेपाली चलचित्र ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा पनि रिलिज हुने भएको छ ।
युसुफ शेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले ‘रङ्गेली’ भारतमा वितरणको लागि अधिकार पाएको छ ।
रङ्गेली भारतका करिब एक सय स्क्रिनमा रिलिज हुने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए । उनले हाल यसको हिन्दी अनुवादको काम भइरहेको र छिट्टै भारतमा रिलिज हुने मिति सार्वजनिक गर्ने बताए । खतिवडाले चलचित्रको हिन्दी डबिङको सबै काम मुम्बईमा हुने बताए ।
यो फिल्म नेपाली भाषामा हाल अमेरिकामा समेत प्रदर्शनमा आइसकेको छ । अमेरिकामा हाउसफुल दर्शकबाट प्रदर्शनको सुरुवात भएको निर्देशक अर्जुन सुवेदीले बताए । त्यस्तै, क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा पनि चलचित्र प्रदर्शन हुने तयारीमा छ ।
प्रदर्शनको दोस्रो सातामा आइपुग्दा रङ्गेलीले उल्लेखनीय रूपमा दर्शक पाइरहेको छ । ‘रङ्गेली’ मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।


