काठमाडौं । अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको नयाँ नेपाली चलचित्र ‘बोक्सीको घर’ को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक भएको छ ।
गीतमा स्वीअरिती तथा निहारिकाको स्वर रहेको छ । मोनिस निरौलाको संगीत तथा सुलक्षण भारतीका शब्दहरु रहेका छन् ।
आगामी वैशाख १४ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रको सार्वजनिक गीतको भिडियोमा अभिनेत्री केकी तथा फिल्मका निर्देशक तथा अभिनेता सुलक्षण भारती फिचर्ड छन् ।
भिडियोमा उनीहरुको विवाह र त्यसपछिको अवस्थालाई देखाइएको छ । गीतको भाव अनुसार दृश्य अपुरो छ । निर्माण पक्षले यसलाई ‘सस्पेन्स’ मा राखेको छ ।
केही समयअघि नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको टीजरले राम्रै चर्चा पाएको थियो । आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित भएर अभिनेत्री अधिकारीले चलचित्र निर्माण गरेकी हुन् ।
अभिनेत्री अधिकारीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रले समाजमा प्रचलित कुप्रथालाई चित्रण गरेको बताएकी छिन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर चलचित्र निर्माण भएको हो ।
चलचित्रमा केकी अधिकारीसहित सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।
केकी अधिकारी चलचित्रको प्रस्तुतिमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजना छ ।
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रमा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । चलचित्रका कार्यकारी निर्माता राज घिमिरे हुन् ।
लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ ।


