काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार चलचित्र ‘महाजात्रा’ हेरेका छन् ।
अध्यक्ष ओलीले श्रीमती राधिका शाक्यसहित सुन्धारास्थित सिने डी सेफमा चलचित्र हेरेपछि उनले फिल्मलाई १० नम्बर मा ९.५ नम्बर दिएका छन् ।
अध्यक्ष ओलीले भने, "चलचित्र राम्रो बन्न सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन् । यसले बाटो बिराएकालाई सही मार्गमा हिड्न प्रेरणा दिन्छ’, ‘यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा सन्देश दिएको छ । चलचित्र काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ । त्यसकारण चलचित्र बाट गलत कार्यमा लागेका लाई सही बन्न प्रेरणा मिल्छ ।"
अध्यक्ष ओलीसँगै ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओलीलगायतका ४० नेताले चलचित्र हेरेका थिए । चलचित्र अवधिभर मनोरञ्जनसँगै सन्देश पनि प्राप्त गरेको गायिका तथा नेत्री कोमल ओलीले बताईन् ।
उनले भनिन् ‘चलचित्र को सुरुआतदेखि नै म हाँसी रहे । यसले भ्रष्टचार विरोधी भावना उजागर गर्नुपर्छ, राजनीति गर्नेले सही रुपमा राजनीति गर्नुपर्छ भन्ने संदेश दिएको छ । मैले यो शृङ्खलाका सबै चलचित्र हेरेकी छु, यसमा महिलालाई सम्मान गरेर बनाइएको छ’, ।
अध्यक्ष ओलीसहित चलचित्र हेर्न उपस्थित सम्पूर्ण नेतालाई निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, अरविन खड्का लगायतले भेटेर धन्यवाद दिएका थिए ।
षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ श्रृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।
गत चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ रिलिज चलचित्र माप्रदीप भट्टराईको लेखन तथा निर्देशन छ । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । चलचित्र म्याक्स दीपेशखत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमानिर्माण गरेका हुन् ।


