काठमाडौं । नेपाली चलचित्र ‘घरज्वाईँ’ को फर्स्ट लूक पोस्टर सार्वजनिक भएको छ ।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत अभिनेता दयाहाङ राई आफैँँले पोस्टर सार्वजनिक गर्दै चलचित्रका बारेमा जानकारी दिएका हुन् ।
जनक घर्ती मगरको निर्माण तथा अनिल बुढा मगरको निर्देशनमा बनेको चलचित्र २०८१ असार २८ गते नेपाल लगायत अन्य विभिन्न देशहरुमा एकैसाथ प्रदर्शन हुने बताइएको छ ।
चलचित्रमा दयाहाङ राई तथा मिरुना मगर मुख्य भूमिकामा छन ।
चैत ४ गते आइतवार छायांकन सम्पन्न भएको यो चलचित्रको छायांकन पूर्वी रुकुमका लुगुम, तक्सेरालगायतका रमणीय स्थानमा छायांकन गरिएको छ ।
निर्देशक बुढा मगरकै कथा तथा लेखनमा बनेको यो चलचित्रमा विनोद खतिवडा र सुभाष कोइराला पनि लेखकको रुपमा रहेका छन् ।
जिएम मुभिज प्रोडक्सनको ब्यानरमा जनक घर्ती मगरद्वारा निर्मित चलचित्रका छायांकार सुसन प्रजापति हुन् । चलचित्रमा हर्क साउद र मनोज थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, संगीत मगरको कस्ट्युम डिजाइन रहेको छ ।
आरआर फिल्मसले वितरण गर्ने यो चलचित्रको अन्तर्राष्ट्रिय अधिकार भने अस्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्टले लिएको छ ।
चलचित्रमा दयाहाङ र मिरुनासंगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगर आदि कलाकारले अभिनय गरेका छन् ।


