काठमाडौं । आगामी वैशाख १४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘बोक्सीको घर’ को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ ।
अभिनेत्री तथा निर्मात्री केकी अधिकारीलाई फिचर्ड गरिएको यो गीतमा गायक प्रकाश सपुत तथा गायिका समिक्षा अधिकारीको स्वर छ । गायक सपुतकै शब्द रचना तथा संगीत निर्देशनमा तायार भएको गीत मंगलबार सार्वजनिक हो ।
सार्वजनिक गीत चलचित्रको कथा हेरेर तयार पारिएको गीतको भिडियो र अडियोबाट बुझ्न सकिन्छ । सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडियो आकर्षक नबेको छ ।
गायक सपूतले फिल्मको मर्म अनुसार नै आफूले गीत तयार पारेको बताएका छन् । चलचित्रको गीतमा केकीसहित निर्देशक तथा कलाकार सुलक्षण भारती तथा रमा थपलियालाई पनि फिचर्ड गरिएको छ । चलचित्रको सार्वजनिक गीतले दर्शकमाझ कौतुहलता बढाउने बुझाई निर्माण टिमको छ ।
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको यो चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको यो चलचित्रले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् ।
महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर यो चलचित्र निर्माण भएको हो ।
केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । चलचित्रमा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।
चलचित्रमा केकीसहित सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।


