काठमाडौं । नेपाली चलचित्र ‘पुजार सार्की’ का दुई पोस्टर सार्वजनिक गर्दै प्रर्दशन मिति घोषणा गरिएको छ।
प्रर्दशन मितिलाई लिएर लामो समयदेखि व्यापक चर्चा गरिएको यो चलचित्र ‘पुजार सार्की’ आगामी वर्षको २०८१ जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन विश्वव्यापी प्रर्दशन हुदैछ ।
तीन सुपर स्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनयलाई मुख्यरुपमा हेरिएको छ । निर्देशक दिनेश राउतले नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा एकसाथ चलचित्र प्रर्दशन हुने बताउका छन् ।
समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने योजनामा रहेका निर्देशक राउतले योचलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् ।
एक पोस्टरमा निधारमा रातो टिका लगाएका अभिनेता प्रदीप खड्काले दमाहा बजाइरहेका छन् भने अभिनेताद्वय आर्यन सिग्देल र पल शाह आ(आफ्नो चरित्रमा छन् ।
अर्को पोस्टरमा आर्यनलाई भलाद्मी, पललाई नेतृत्वदायी र प्रदीपलाई केही निर्धो भूमिकामा चित्रण गरिएको छ। पोस्टरले यी तीन पात्र साथी रहेको बुझ्न सकिन्छ ।चौतारोमा बसी पलले गफ हाँकिरहेका छन् भने आर्यन र प्रदीपले हँसिलो मुद्रामा सुनिरहेका छन्।
‘पुजार सार्की’का दुवै पोस्टरले कथा पेस गरिरहेका छन् । फरक शैलीमा चलचित्रमार्फत कथा भन्ने क्षमता राख्ने निर्देशक राउतले सार्वजनिक पोस्टरहरूमा समेत चलचित्रको कथा सार झल्काएका छन्। यी पोस्टरले यस चलचित्रप्रति थप उत्सुकता बढाइदिएको छ ।
चलचित्रमा अभिनेत्रीद्वय अञ्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन् । मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको चलचित्रमा अभिनय रहेको छ ।
दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ फिल्ममा आउन लागेको खबर बाहिरिएदेखि नै ‘पुजार सार्की’ चर्चामा रहँदै आएको छ । यो चलचित्र दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ ।
यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। यसअघि विकास र दिनेशले ‘प्रकाश’मा सहकार्य गरेका थिए। चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्।
राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ।
हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र आरआर फिल्मसले वितरण गर्दैछ ।


