काठमाडौं । आजदेखी नेपाली चलचित्र ‘डिग्री माइला’ प्रदर्शन आएको छ।
नयाँ वर्ष २०८१ लाई स्वागत गर्ने लक्ष्यसहित ‘डिग्री माइला’ आजदेखि प्रदर्शनमा आएको हो ।
बिहीवार राति कमलपोखरीस्थित बिग मुभिजमा आयोजित ‘डिग्री माइला’ को ग्राण्ड प्रीमियर शो गरिएको थियो । तीन वटा पर्दामा गरिएको प्रीमियरमा फिल्म क्षेत्रका अधिकांश परिचित अनुहारहरुको उपस्थिति रहेको थियो ।
रामबाबु गुरुङ निर्देशित यो चलचित्र ‘डिग्री माइला’ मा दयाहाङ राई तथा आँचल शर्मा मुख्य भूमिकामा छन् । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । चलचित्र सोही नामको नाटकमा आधारित रहेको छ ।
अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको अनस्क्रिन रोमान्स रहेको यो चलचित्रको ट्रेलर र टीजर सबैले मन पराएका थिए । आफ्नै गाउँ ठाउँका कथा भन्न सिपालु निर्देशक रामबाबु गुरुङले यसपटक रुम्जाटारको कथा भनेका छन्, जहाँको एउटा सरकारी क्याम्पस अंग्रेजी भाषाको शिक्षकको अभावमा बन्द हुने त्रासमा छ । गाउँमै अंग्रेजी साहित्यमा डिग्री गरेका व्यक्ति (दयाहाङ)छन्, तर उनले उक्त क्याम्पसमा पढाउन राखेको शर्तले सञ्चालक समितिका अध्यक्षको होसै उठ्छ ।
चलचित्रमा दयाहाङ र आँचलसँगै विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय छ । चलचित्रमा अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिन्छ ।
बाँसुरी फिल्म्सले कबड्डी फिल्म्स तथा सुष्मा फिल्म्ससँग मिलेर निर्माण गरेको चलचित्रका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । चलचित्रका कार्यकारी निर्माता क्रिश लामा हुन् । यो चलचित्रमा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ ।चलचित्रलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।


