काठमाडौं । आगामी जेठ १० गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘पूजार सार्की’को टिजर सार्वजनिक गरिएको छ ।
नयाँ वर्ष (२०८१)को अवसर पारेर शुक्रबार युट्युबमा सार्वजनिक टिजरमा चलचित्रका तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित दुई अभिनेत्रीहरु अञ्जना बराइली र परीक्षा लिम्बूको चरित्रचित्रण गरिएको छ ।
चलचित्रको कथा जनयुद्धभन्दा अगाडिको देखिन्छ । कथित तल्लो र उपल्लो जातका पात्रको संघर्षमा चलचित्र आधारित रहेको टिजरले देखाउछ ।
दिनेश राउतको निर्देशक तथा विकास सुवेदीको लेखन रहेको चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।
संगीतकार सुवास भुसालले चलचित्रको निर्माण गरेका हुन् । राजेश श्रेष्ठको डिओपी रहेको चलचित्रलाई भरत रेग्मीले सम्पादन गरेका छन् ।


