काठमाडौं । गत शुक्रवारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली चलचित्र ‘डिग्री माइला’ का बारेमा दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिन मुख्य कलाकारहरु आजदेखि मोफसलका लागि निस्किएका छन् ।
अभिनेता दयाहाङ राई, अभिनेत्री आँचल शर्मा, कलाकार विजय बराल तथा कार्यकारी निर्माता मणिराम पोखरेलसहितको टिम मोफसल यात्रामा निस्केको हो विराटनगरबाट प्रारम्भ हुने यो भेटघाट बिर्तामोड पुगेर टुङ्गिने निर्माता मणिराम पोखरेलले बताएका छन् ।
पोखरेलका अनुसार टिमले मंगलवार बिहान १० बजे विराटनगरस्थित क्यूएफएक्स सिनेमा हलमा पुगेर प्रेस तथा ११ः३० को शोमा फिल्म हेर्न आएका दर्शकसँग भेटघाट एवम् संवाद गर्नेछ भने त्यस क्रममा उनीहरु विराटनगरका विभिन्न सिनेमा हलमा पुग्ने छन् ।
विराटनगरपछि इटहरीका दुई वटा सिनेमा हल इलाइट सिनेमा हल तथा इटहरी क्यूएफएक्स पुग्नेछन भने आजै साँझ ५ बजे धरानस्थित फ्रेण्ड्स सिनेमाज पुग्ने छन् ।
बुधवार भने टीमले बिहान ११ बजे दमकस्थित डि म्याक्स सिनेमा हल तथा दिउँसो २ बजे बिर्तामोड क्यूएफएक्स तथा ५ बजे पाथिभरा सिनेप्लाजामा जाने बताइएको छ ।
स्टार निर्देशक रामबाबु गुरुङ निर्देशित यो चलचित्रले बक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । वितरकका अनुसार दुई दिनमा ३ करोड ६ लाख कमाइसकेको चलचित्रको आम्दानी तेश्रो दिनमा झण्डै ४ करोडको निकट पुगेको छ ।
बाँसुरी फिल्म्सले कबड्डी फिल्मस् तथा सुस्मा फिल्म्ससँग मिलेर निर्माण गरेको चलचित्रका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।
चलचित्रका कार्यकारी निर्माता क्रिश लामा हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ ।


