काठमाडौं । नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ)को तेस्रो संस्करण सम्पन्न भएको छ ।
बैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप जिल्लामा आयोजना भएको महोत्सवमा चलचित्र प्रदर्शनपछि १६ विधामा अवार्ड प्रदान गरिएको छ ।
लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ उत्कृष्ट चलचित्र घोषित हुँदा ‘नाङ्गो गाउँ’बाट दयाहाङ राईले उत्कृष्ट अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेका छन् ।
‘सतीदेवी’ले उत्कृष्ट पटकथा तथा उत्कृष्ट अभिनेत्री (जुरी मेन्सन अवार्ड) गरी तीन विधामा अवार्ड जित्न सफल भयो । उत्कृष्ट निर्देशकको अवार्ड भने ‘दिमाग खराब’बाट निश्चल बस्नेतले प्राप्त गरे ।
यसैगरी, ‘नाङ्गो गाउँ’ले उत्कृष्ट सम्पादन (बनिश शाह) र ‘दिमाग खराब’ले उत्कृष्ट कलरिस्ट (राजेन्द्र मोक्तान)को अवार्ड जित्दा ‘विच्छेद’ले जुरी मेन्सन अवार्डसहित उत्कृष्ट छायाँकार (संकल्प भुजेल)को अवार्ड पायो। सिनेमा आर्ट्सलाई भने उत्कृष्ट चलचित्र निर्माण कम्पनीको अवार्ड प्रदान गरिएको छ ।
त्यस्तै, सर्ट चलचित्रको विधामा परिच्छेद सेन निर्देशित ‘मदर’, भाषिक चलचित्रतर्फ बुद्दिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’, म्यूजिकल सर्ट फिल्मतर्फ ‘अन्तै माया’बाट रणधीर श्रेष्ठ, सर्ट फिल्मतर्फ जुरी मेन्सन अवार्ड ‘रित्तो गाउँ’बाट रामजी ज्ञवाली र डकुमेन्ट्रीतर्फ ‘द आइरन डिगर’बाट निर्देशक अनिल बुढा मगरले अवार्ड जितेका छन् ।
सेलिब्रेटी नेपालको आयोजना भएको महोत्सवमा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं निर्देशक दयाराम दाहाल, अभिनेता मुकुन भुसाल, निर्देशक तथा लेखक लक्ष्मण सुवेदी, निर्देशक तथा महोत्सव संयोजक कमल एक्चै मगर, निर्माता रौनक विक्रम कँडेललगायतको उपस्थिति रहेको थियो ।


