काठमाडौं । आसुसेन फिल्मस्को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन्। शनिवार औपचारिक सम्झौता गर्दै उनलाई यस चलचित्रमा भित्राइएको हो ।
चलचित्रका प्रमुख भूमिकाहरू मध्ये एकमा दिव्यको अभिनय रहने निर्देशक सन्तोष सेनले बताएका छन् ।
‘बलिदान’को एक प्रमुख पात्रको लागि उहाँ एकदमै सुहाउँदो कलाकार हुनुहुन्छ” निर्देशक सेनले भने, “यस चलचित्रमा हामीले सबै उत्कृष्ट कलाकारहरूलाई अभिनय गराउँदै छौँ। चलचित्रमा नयाँ भित्रिनुभएका कलाकारहरू पनि पहिले नै पोख्त भइसक्नुभएको छ।”
अभिनेता दिव्यले ‘बलिदान’को टिमसँग जोडिन पाउँदा खुसी रहेको बताए। गत वर्ष नै रिलिज भएको यसको टिजरमा आवाज दिएका उनले निर्देशक सेनले त्यही बेला नै सँगै काम गर्ने प्रस्ताव गरेको बताए।
उनले भने, “टिजरको समयमा नै उहाँले काम गर्नु पर्छ है भन्नु भएको थियो। मैले पर्खिरहेको थिएँ। केही दिन अघि उहाँले बोलाउनुभयो र एउटा महत्त्वपूर्ण भूमिकामा काम गर्ने सहमति भयो। भव्यताका साथ चलचित्र बनाउने आँट भएको मेकरसँग काममा जोडिन पाउँदा खुसी लागेको छ।”
‘बलिदान’को प्रमुख भूमिकाबाट समीर भट्टले डेब्यु गर्दैछन्। यस चलचित्रमा यसअघि अभिनेता द्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन्। सबै स्टार कलाकारहरूको अभिनय रहने यस चलचित्रलाई लिएर ठुलो अपेक्षा गरिएको छ।
सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भई व्यापक चर्चामा रहेको छ।
यसै वर्ष रिलिज हुने ‘बलिदान’को हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको बताइएको छ । यस चलचित्रका निर्देशक सेनले चलचित्रको कथामा आउने देश काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीका बिच सेट डिजाइन भइरहेको बताए।
देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन्। ।
आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।


