काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विपद्मा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी रहेको बताएका छन्।
शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद्मा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी रहेको बताएका हुन्।
उनले सातै प्रदेशले एयर एम्बुलेन्सको अवधारणा बनाउनुपर्ने उल्लेख गर्दै पैसाको अभाव देखाएर विपद् व्यवस्थापनको काम नगरिएको र इच्छाशक्ति भएमा बजेट व्यवस्थापन हुनसक्ने धारणा राखे।
उनले विपद्बाट नागरिकको जीवन बचाउने कुरालाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिए । देशभरका दमकलहरुलाई एकीकृत रुपमा सञ्चालन गर्नेगरी अभ्यास गरिरहेको जानकारी दिँदै उनले देशैभरि विभिन्न कार्यविधि र निर्देशन अनुरुप चलिरहेका एम्बुलेन्सहरुलाई एकीकृत प्रणालीमा ल्याएर सञ्चालन गर्नुपर्ने बताए।
गृहमन्त्री लामिछानेले भने, ‘नागरिकको ज्यान जोगाउने, नागरिकको जनधन जोगाउने विषय अनिवार्य दायित्वमा पर्न आउँछ। सरकार फेरबदल हुने कुरा हामीभन्दा पनि अस्थिर देशहरु छन्। राजनीतिक रुपमा एकदमै अस्थिर देशहरु पनि छन्। कहिले कतिखेर सरकार ढल्ने हो? कहिले बन्ने हो? भन्ने कुरा नभएका कयौँ मुलुकहरु छन्। तर आम नागरिकको जीवनमा त्यसले त्यतिधेरै प्रभाव पारेको हुँदैन। किनकी नागरिकका आधारभूत आवश्यकताका कुराहरु, मानिसको मौलिक हक रक्षा गर्ने कुराहरु पहिलो प्राथमिकता बन्छ,’।



