काठमाडौं । नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् ।
अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको चलचित्रका लागि निर्माणपक्षले मुकुनसँग केही दिन अघि मात्रै लिखित सम्झौता गरेको हो ।
पहिलो चलचित्र ‘बुलबुल’ बाट चर्चा कमाएर अलग छवि बनाएका अभिनेता मुकुनलाई आफूहरूले कल्पना गरेको पात्रलाई उम्दा गरेर देखाउने विश्वस्तका साथ अनुबन्धित गराइएको बताइएको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रमा मुकुन अघि गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भइसकेका छन् ।
चलचित्रका लेखन तथा निर्देशन सरोज पौडेल हुन्। जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको चलचित्रको लागि अभिनेता फाइनल भए पनि निर्माण पक्षले अभिनेत्री र अन्य कलाकारका बारेमा गोप्य राखेका छन् ।
यो चलचित्रको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ। करिब दुई हप्ता अघि चलचित्रको नाम र मोसन पोस्टर सार्वजनिक गरेको निर्माण टिमले चलचित्रलाई विं.सं.२०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ। रमेश चौलागाईं र हरि श्रेष्ठ चलचित्रका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।


