काठमाडौं । चलचित्र ‘महाजात्रा’ले सफल प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ ।
चलचित्रले शनिबार काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज, सिनेडी सेफ र मोफसलको नेपालगञ्ज स्थित सिने रोयलमा सफल प्रदर्शनको ५१ औँ दिन पुरा गरेको हो । शुक्रबारबाट चलचित्र हलहरुमा आठौं हप्तामा प्रदर्शन भईरहेको छ ।
चलचित्र गत ९ चैतबाट नेपाल सहित विश्वका विभिन्न देशमा एकसाथ प्रदर्शनमा आएको थियो । चलचित्रले अष्ट्रेलिया लगायतको देशमा सबैभन्दा बढी व्यापारको रेकर्ड राखेको छ ।
यसै अबसरमा शनिबार केक कटेर यो चलचित्रको ५१ दिने खुसी कलाकारहरुले आसपमा साटे । समारोहमा कलाकार हरिबँश आचार्यसँगै रवीन्द्र झा, शिशिर वाङ्ग्देल, दिव्य देव, अरविन खड्का एसोसियट निर्देशक जेवी रुवाली, प्रोडक्सन म्यानेजर रुपकप्रताप अधिकारीलगायतले खुसी साटेका हुन् ।
चलचित्रका मुख्य कलाकार विपिन कार्की र वर्षा राउत एक फिल्मको छायांकनको लागि अमेरिका रहेको र निर्देशक प्रदीप भट्टराई, कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्री भारतमा रहेकाले उनीहरु कार्यक्रममा सहभागी हुन् सकेनन् ।
नेपालमा यो चलचित्रले हालसम्म १६ करोड ८ लाख रुपैयाँको व्यापार गरेको बताइएको छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।


