काठमाडौं । बिराज भट्टको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘१२ गाउँ’मा ‘इकु’को रुपमा चर्चित हास्यकलाकार सुलेमान शंकर भित्रिएका छन् । चलचित्रमा उनी कमेडी भूमिकामा देखिने बताइएको छ ।
बिहिबार विराजले सामाजिक सञ्जालमा सुलेमानसँगको एक तस्बिर पोष्ट गर्दै लेखेका छन्, ‘सुलेमान शंकर ‘इकु’लाई १२ गाउँ चलचित्रमा अब दर्शकले हेर्न पाउनेछन् । उहाँलाई हामीले एउटा महत्त्वपूर्ण पात्रको लागि चलचित्रमा अनुबन्धित गरेका छौ ।’
पटकथा लेखन कार्य भइरहेको यो चलचित्रको निर्माण नेपाली, भोजपुरी र हिन्दी भाषामा गर्ने बताइएको छ ।
‘१२ गाउँ’मा विराजको छोरा समीर, पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराई मुख्य भूमिकाको लागि छानिएका छन् । एक्सन–थ्रीलर विषयमा बन्न लागेको चलचित्रको छायांकन नेपाल र भारतमा हुने बताइन्छ । भट्टले केही वर्ष अगाडि ‘साङ्लो’ चलचित्रबाट निर्देशकमा डेब्यु गरेका हुन् ।


