काठमाडौं । स्वर्गिय गायक भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ १३ वर्षपछि पुनः प्रदर्शन गरिने भएको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच आगामी असार ७ गते चलचित्रलाई पुनः प्रदर्शन गरिने जानकारी गराइयो । चलचित्रलाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ । नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले फिल्म प्रदर्शन गर्नेछ ।
चलचित्रमा गायक आचार्यको भूमिकामा उनकै जेठा छोरा सत्यराज आचार्यले अभिनय गरेका छन् । उनी चलचित्रका निर्माता पनि हुन् । पहिलोपटक फिल्म रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको उनले जानकारी दिए । यो बुबाप्रति ट्रिब्युट पनि रहेको उनको भनाई छ । उनका अनुसार, नयाँ फिल्मजस्तै गरी फिल्मलाई रिलिज गरिनेछ । आगामी साता ट्रेलर रिलिज गरिने बताइएको छ ।
प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको चलचित्रमा सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ । यो चलचित्र २०६८ साल ९सन् २०११०मा रिलिज भएको थियो । त्यतिबेला फिल्मले राम्रो व्यापार गर्न नसकेको भए पनि उत्कृष्ट समीक्षा मिलेको थियो । यसपछि धेरैपटक ‘आचार्य’को विशेष शो आयोजना भइसकेको छ ।
चलचित्रमा गायक आचार्यको जीवनका अनेक पाटाहरु केलाइएको छ । उनले पाएको सफलता, उनले गरेको संघर्ष र उनले भोगेका दुःखको कथा चलचित्रमा छ । २०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई पनि यो चलचित्रले देखाउँछ ।


