काठमाडौं । चर्चित कथावाचक साइग्रेस पोखरेलको कथा ‘अधुरो प्रेम’मा चलचित्र बन्ने भएको छ ।
शनिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेस स्वयंले चलचित्रको घोषणा गरेका हुन् । एक थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रलाई शिशिर खातीले निर्देशन गर्ने छन् । खातीले यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्नेछन् ।
अघिल्लो वर्ष चलचित्र ‘रङ्गेली’ निर्माण गरेको कम्पनी प्लानेट थ्री फिल्म्सको प्रस्तुतिमा बन्न लागेको चलचित्रको कार्यकारी निर्माता अर्जुन सुवेदी हुन् भने अडियो नोबेल ‘अधुरो प्रेम’कै नाममा बन्ने चलचित्रलाई आगामी वर्ष (२०८२)मा रिलिजको लक्ष्य राखिएको छ ।
साइग्रेसले आफ्नो जीवनको एक समयमा भएको प्रेममा यो कथा तयार पारेका हुन् । आफ्नो कथामा चलचित्र बन्न लागेकोमा त्यसको जस दर्शकलाई दिँदै उनले यो कथा आफ्नो मुटुको सबैभन्दा नजिकको रहेको बताए ।


