काठमाडौं । आज बिहिवारदेखि दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् ।
बुद्ध जयन्तीको अवसर पारेर ‘पुजार सार्की’ तथा ‘फर्की फर्की’ एकसाथ दर्शकमाझ आएका छन् । यी दुबै चलचित्रहरु आज देश भित्रमात्र होइन, विदेशमा समेत एकसाथ प्रदर्शन भैरहेका छन् ।
‘पुजार सार्की’ लाई दिनेश राउतले निर्देशन गरेका हुन् भने ‘फर्की फर्की’ का निर्देशक सुयोग गुरुङ हुन् । ‘पुजार सार्की’ ले नेपाली समाजमा विद्यमान जातीय विभेदविरुद्ध तीन युवाहरुले गर्ने संघर्षको कथा बोेकेको भने ‘फर्की फर्की’ टाइम लूपको कथाका साथै युवापुस्ताको प्रेमदेखि जीवनशैलीसम्मलाई चित्रण गरिएको छ ।
आर्यन सिग्देल, प्रदीप खड्का तथा पल शाहले पहिलो पटक एकसाथ अभिने गरेको चलचित्र ‘पुजार सार्की’ मा अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल आदि कलाकारले पनि अभिनय गरेका छन् ।
विकास सुवेदीको लेखन रहेको यो चलचित्रलाई संगीतकार समेत रहेका सुवास भुसालले निर्माण गरेका हुन् । राजेश श्रेष्ठको डिओपी रहेको यो चलचित्रलाई भरत रेग्मीले सम्पादन गरेका छन् ।
‘फर्की फर्की’ मा भने अभिनेता अनमोल केसी तथा जस्सीता गुरुङको साथमा रवि काफ्ले तथा समृद्धि अर्यालले पनि मुख्य भूमिका निर्वाह गरेका छन् ।
रोहित अधिकारी फिल्मस्को प्रस्तुति रहेको यो चलचित्रका निर्माता रोहित अधिकारी तथा ओमप्रकाश अग्रवाल हुन् ।
नरेन्द्र मैनालीको डिओपी, अष्ट महर्जनको द्वन्द्व, किरण थापाको कोरियोग्राफी र सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्रलाई काफिया फिल्मस् र कुबेर चलचित्रले वितरण गर्दैछन् ।


