काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लोक तथा दोहोरी गीतको क्षेत्रमा बढेको विकृति न्यूनीकरण हुँदै नियन्त्रणमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बिहिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ज्ञापनपत्र बुझ्दै उनले जे गरे पनि हुन्छ भन्ने मनोवृत्तिको मारमा गीत(संगीत क्षेत्र परेको भन्दै मौलिक पक्षको जगेर्नाका लागि सरकारसहित सरोकारवाला सबैबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।
मन्त्री लामिछानेले भने, ‘ग्ल्यामर र भल्गरबीच फरक छुट्याउन आवश्यक छ। स्वतन्त्रतामा पनि अनुशासन आवश्यक हुन्छ भन्ने कुरा समाजले भुल्दै जाँदा विकृति बढेका छन् । कलालाई सर्जकले आफू अनुकूल व्याख्या गर्ने र अरुले निजको भन्दा फरक व्याख्या गर्दा कला नै नबुझेको अर्थ लगाउने प्रवृत्तिले पनि समस्या निम्त्याएको छ। समस्या समाधानका लागि कलाको पनि मानक र मापदण्ड बनाउन आवश्यक छ ।’
ज्ञापन पत्र बुझाउन पुगेका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहित, बद्री पंगेनी, पशुपति शर्मालगायतका कलाकारले लोक तथा दोहोरी गीत पछिल्लो समय अत्यन्तै अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई समेत खलल पुर्याउने खालको हुँदै गएको, दोहोरी र्याप र ब्याटलको नाममा मौलिकता नष्ट गर्न थालिएको, दोहोरी साँझमा नेपाली मौलिक गीतलाई प्राथमिकता दिन छोडिएको, मेला(महोत्सवमा समेत उच्श्रृंखल र अमर्यादित गीत(संगीतको दबदबा बढ्न थालेको भन्दै नियन्त्रणमा सहयोग गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।


