काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी-२० विश्वकप-२०२४ को पहिलो खेल खेल्न उत्साहित भएको बताएका छन् । आईसीसी ट्वान्टी–२० विश्वकपमा आफ्नो खेल सुरु हुनुअघिको प्रि–म्याच कन्फरेन्समा उनले यस्तो बताएका हुन् ।
खेल राति साढे ९ बजे हुँदैछ । १० वर्षपछि नेपालले ट्वान्टी–२० विश्वकप खेल्न लागेको भन्दै उनले राम्रो प्रदर्शन गर्ने बताए ।
उनले भने, “हामी सबैजना उत्साहित छौँ । यो इभेन्ट एकदमै महत्त्वपूर्ण छ । विगत १० वर्षदेखि हामी खेलेका थिएनौँ । १० वर्षपछि हामी विश्वकप खेल्दै छौँ । नेपाल क्रिकेटको लागि यो महत्त्वपूर्ण कुरा हो,” । “हाम्रो यो सपना थियो । हामीले त्यो अवसर पाइरहेका छौँ । २० वटा टिम छन् । सबै टिम ब्यालेन्स र प्रतिस्पर्धी हुनुहुन्छ । नेदरल्यान्ड्ससँग धेरै खेल खेलेका पनि छौँ । जसले प्रेसर ह्यान्डिल गर्दछ, त्यही टिमले जित्छ । हामी बेस्ट दिनेछौँ । टुर्नामेन्टमा पहिलो खेल एकदमै महत्त्वपूर्ण हुन्छ । त्यसले एउटा आत्मविश्वास दिन्छ ।”
आज नेपालले आफ्नो पहिलो खेल नेदरल्याण्डसँग खेल्दै विश्वकप-२०२४ को सुरुआत गर्दैछ ।


