काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले जित निकाल्न सकिन्छ भन्ने विश्वासका साथ अघि बढेको बताएका छन् ।
खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले उनले विश्वकपमा अन्य एसोसिएट टोलीले ल्याएको नतिजाले पनि नेपालको मनोबल बढेको बताएका हुन् ।
उनले श्रीलंकाविरुद्ध खेल नेपालको लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसर रहेको बताए ।
उनले भने, ‘यदि विश्वकप हेर्छौं भने एसोसिएट टिमले टेस्ट राष्ट्रहरुलाई हराएका छन् । यसले हाम्रो मनोबल बढेको छ,’ । ‘हामी जित निकाल्न सकिन्छ भन्ने विश्वासका साथ नै अघि बढेका छौं ।’
नेपाललेले भोलिको खेललाई महत्त्वपूर्ण खेलको रुपमा नै लिएको उनको भनाई छ ।
कप्तान पौडेलले भने, ‘हाम्रो बलिङ आक्रमण केहि राम्रो छ । हारमा पनि राम्रो प्रदर्शन भएको छ,’ ‘यो विश्वकपमा मैदानको अवस्था बुझेर खेल्न सके मात्र सहज हुन्छ । त्यसैले हामीले भोली त्यो बुझेर आफ्नो रणनीति प्रयोग गर्नुपर्छ । नेपालले पनि राम्रो क्रिकेट खेल्छ ।’
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी मेन्स टि२० विश्वकपको दोस्रो खेलमा भोलि श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बुधबार बिहान ५ः१५ बजे फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा खेल हुँदैछ । विश्वकप जुन १ बाट सुरु भएको हो ।
नेपालले जुन ४ मा आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग ड्यालसमा खेलेको थियो । भोलि श्रीलंकासँग खेलेर टोली वेस्ट इन्डिजतिर लाग्ने छ । वेस्ट इन्डिजमा जुन १५ मा दक्षिण अफ्रिकासँग र जुन १७ मा बाङ्ग्लादेशसँग लीगको आफ्नो अन्तिम खेल खेल्ने छ ।


