काठमाडौं । चलचित्र ‘कङ्गारु’ मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन्।
शुक्रबार चलचित्रका लागि निर्माण पक्षले जितुसँग कागजी सम्झौता गरेको हो।
सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको चलचित्रमा यस अघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा देखिने पक्का भइसकेको छ।
राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुने चलचित्रको मुख्य भूमिकामा जितुको प्रवेशसँगै कलाकारहरुको लाइनअप बलियो बन्दै गएको छ।
यसअघि चलचित्र ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए।
हाल अस्ट्रेलियामा चलचित्रका लागि सुटिङ अवलोकन गरिरहेका निर्देशक बस्नेत। यो हप्तामा नयाँ अभिनेत्री फाइनल गरेसँगै छायांकनमा जाने तयारी रहेको जानकारी दिए।
३५ दिनको छायांकन सेड्युल तय गरिएको चलचित्रको छायांकन अस्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरा लगायतका क्षेत्रमा गरिनेछ।
चलचित्रमा सीमा गुरुङको कथा रहेका फिल्मलाई सुशन प्रजापतिले खिच्नेछन्। चलचित्र फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड चलचित्रसँग एसजिटि प्रोडक्सन प्रा.लीको सहकार्यमा निर्माण हुन लागेको हो।
फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्यक्स’ निर्माताको रुपमा छन्।


