काठमाडौं । असार ७ गतेदेखि प्रदर्शनमा आउने भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको चलचित्र ‘आचार्य’ को गीत ‘आगोको राप’ सार्वजनिक गरिएको छ ।
यो गीतमा भजन शिरोमणीका सुपुत्रद्वय सत्यराज तथा स्वरुपराज आचार्यको स्वर छ । स्वर्गीय भक्तराज आचार्यको संगीत रहेको यो गीतका रचनाकार नवराज लम्साल हुन् ।
यो गीतको भिडियोमा चलचित्रका कलाकारहरु सत्यराज आचार्य, दयाहाङ राई, अरुणा कार्की, स्वर्गीय गोपाल भुटानी लगायत प्रस्तुत छन् ।
१३ वर्षअघि नै निर्माण भएर प्रदर्शन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले चलचित्रको पुनः प्रर्दशन गर्न लागेको हो । यसपटक प्रदर्शन हुने फिल्ममा भक्तराजको निधन पश्चातका केही दृष्यहरु समेत समेटिने छ ।
चलचित्रमा भजन शिरोमणि आचार्यका ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्यले भक्तराज आचार्यको भूमिका निर्वाह गरेका छन् ।चलचित्रमा अरुणा कार्की, सुनील पोखरेलदेखि सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरुलाई समेत देख्न सकिन्छ ।
रोशन राई निर्माता रहेको यो चलचित्रलाई प्रशान्त रसाईलीले निर्देशन गरेका हुन् । यो चलचित्रलाई देवजंग थापाले पुनः सम्पादन गरेका छन् ।


