काठमाडौं । असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले चलचित्र गाउँको परिवेशमा बनेको बुझ्न सकिन्छ । एउटा गाउँमा शिक्षण पेशा गरिरहेका दयाहाङ राईको त्यहीँकी मगर युवती मिरुना मगरसँग प्रेम बसेपछि आउने आरोह(अवरोहको कथामा ट्रेलर केन्द्रित छ ।
अनिल बुढा मगरद्वारा निर्देशित चलचित्रमा दयाहाङ, मिरुना र शिशिरसहित कविता आले, भोलाराज सापकोटा, पुष्कर गुरुङ, बुद्धि तामाङ, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर, सुरेश पुन लगायतको पनि अभिनय छ ।
जिएम मुभिज् र एबीएम सिनेमा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको चलचित्रको कथा पनि निर्देशक अनिल आफैंले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । चलचित्रमा सुसन प्रजापतिको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ ।


