काठमाडौं । नेपाली चलचित्रमा एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्केीने भएकी छन् ।
उनले हालै मात्र ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थालेकी छन् । सिरिजको छायांकन अमेरिकामा नै भइरहेको छ । सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो चलचित्र ‘पिपल’मा अभिनय गरेकी थिइन् ।
सिरिजलाई बिमलेश अधिकारीले निर्देशन गरेका छन् भने बिमलेश आफैंले पनि प्रमुख भुमिकामा अभिनय गरेका छन् ।
सिचुएशनल कमेडी ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायांकन संयुक्त राज्य अमेरिकामा नै हुने निर्देशक अधिकारीले बताए ।
पछिल्लो समय अमेरिकामा नै रहेका कलाकारहरू राधाबाबु लम्साल र खेम शर्माको पनि सिरिजमा प्रमुख अभिनय रहेको छ । यही सिरिजबाट आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाले डेब्यु गर्दैछन् ।
सेभेन कलर्स डिजिटलले निर्माण गर्ने सिरिजको अवधारणा पनि बिमलेशको नै हो । यसमा रोशन घिमिरे लाइन प्रोड्युसर, विवेक रसाइलीको सहायक निर्देशन, पशुपति बस्यालको छायांकन र अप्सरा कटुवालको मेकअप रहेको छ ।
हाल पहिलो सिजन छायांकन भइरहेको यो सिरिज स्ट्रिमिङ हुने प्लाटफर्म भने खुलाइएको छैन । निर्देशक अधिकारीले पहिलो सिजन छायांकन पश्चात् मात्र यसबारे जानकारी दिने बताए ।


