काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कुनैपनि योजनाहरू शिलान्यास मात्रै गरेर छोड्न नहुने बताएका छन् ।
बुधवार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उनले शिलान्यास गर्ने तर नबनाइदिँदा अलपत्र हुने भन्दै कुनैपनि योजनाको उद्घाटन मात्रै गरेर छोड्नु नहुने बताएका हुन् ।
उनले स्व.मंगलादेवी सिंहको नाममा भवन शिलान्यास गर्न पाउनु आफ्नो लागि सौभाग्यको विषय भएको बताए । उनले मंगलादेवी सिंह आफैँमा एउटा संस्था भएको बताए ।
उनले भने,"मंगलादेवी आफैँमा एउटा संस्था हो । उहाँको नाममा भवन शिलान्यास गर्न लागेका छौँ । तर यो बन्नुपर्छ, शिलान्यास मात्रै गर्ने अरु नबन्ने हुनु हुँदैन । मैले त के भनेको छु भने उद्घाटन गर्ने मात्रै भए शिलान्यास नै नगर भनेको छु,’‘यसको उद्घाटन गर्ने काम पनि होस्, घर पनि बनोस् । यहाँ भएका महिला दिदिबहिनीहरुबाट मात्रै होइन, सम्पूर्ण काठमाडौँवासीबाट सहयोग होस् । यो बनेको खण्डमा मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ ।"
उनले मंगलादेवी सिंहको नाममा बन्न लागेको भवनको निर्माण छिटै सम्पन्न गर्न सम्पूर्ण काठमाडौँवासीको साथ र सहयोग चाहिने बताए ।



