काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा रहेको डेडिकेटेड तथा ट्रंक लाईनको वक्यौता रकम असुली गर्ने बताएको छ ।
प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको बेला आम उपभोक्तालाई पनि ६ वटा उद्योगमा सस्तोमा दिइएको उल्लेख गर्दै त्यसलाई असुली गर्ने बताएका हुन् ।
शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले विना बिल सो लाइनको वक्यौता रकम असुली गर्न खोजिएको भन्ने भनाई पनि सत्य नभएको दाबी गरे ।
उनले भने, "डेडिकेटेड र ट्रंक लाईनको लोडसेडिङको बेलामा हामीले इण्डियाबाट पनि इम्पोट गरेका थियौ । केही समय हामीले लोडसेडिङ घटाउने गरेर हेटौँडा डिजेल प्लान्ट पनि चलाएका थियौं । त्यो इम्पोर्ट गर्ने कस्ट बढेको पनि होला । तर डेडिकेटेडको पैसा तिर्दा पनि उहाँहरुले पर युनिट साढे ११ रुपैयाँ भन्दा परेको छैन । जबकी नर्मल टेरिफ १३ रुपैयाँ थियो त्यो बेला पब्लिकले तिरेको । तर पब्लिकलाई त लोडसेडिङ थियो नि त । उहाँलाई नर्मल टेरिफ चाहीँ साढे ८ को हाराहारीमा थियो । अब ६०÷६५ प्रतिशत प्रिमियम चार्ज हो । प्रिमियम चार्ज मात्रै लगाएको हो । हाम्रो बिल नै थिएन । नभएको बिल जेनेरेट गर्यो भन्ने कदापि होइन । हाम्रो जुन इनर्जी छ । त्यो सधै रेकडेट इनर्जी हो । त्यो रेकडेट इनर्जीमा मात्रै हामीले थप प्रिमियम लगाएर मात्रै बिलिङ गरिएको अवस्था हो । त्यो भएको हुनाले यसलाई हामी उठाउनु पर्छ भन्ने लाईनमा हो ।"
उनले आफूले प्राधिकरणको नृतृत्व लिएपछि हालसम्म करिव २५ प्रतिशत विद्युत महशुल घटाएको र करिव २५ लाख सर्वसाधरणलाई निःशुल्क विद्युत उपभोग गर्ने अवस्था बनाएको दाबी समेत गरे ।



