काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनलाई समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
मंगलबार निर्माणाधीन संसद् भवनको अवलोकनका क्रममा निर्माणका लागि देखिएको समस्या समाधान गर्दै समयमा नै सम्पन्न गर्न निर्देशन दिएका हुन् । उनले सदनको अगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने गरी काम सम्पन्न गर्ने लक्ष्य लिइएको बताए ।
पर्याप्त संख्यामा कामदार नराखिएकाले निर्माणमा ढिलाइ भएको गुनासोलाई सम्बोधन गर्दै त्यही अनुसारको जनशक्ति राखेर तीव्रताका साथ कामलाई अघि बढाउनुपर्ने उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारमा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सक्ने लक्ष्यअनुसार काम सुरु गरे पनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिँदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ ।



