काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय रहेको चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा एसिड आक्रमणका पीडितको पीडा र संघर्षलाई देखाइएको छ । चलचित्रले नेपालमा एसिड बिक्री(वितरण गर्न प्रतिबन्ध लगाउनुपर्ने आवाज सशक्त रुपमा उठाएको छ ।
ट्रेलरमा प्रधानमन्त्री ओली ,पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई प्रस्तुत गरिएको छ ।
अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा बनेको चलचित्रले एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथामा उठाएको छ । चलचित्रमा मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, प्रभात पल ठकुरी, आरती आचार्य, सुरवीर पण्डित, सुनिल कटुवाल, अपेक्षा न्यौपाने, क्रान्ति शाह, आरजु लेखक, एलिसा गुरुङ आदिको अभिनय रहेको छ ।
रमित ढुंगाना चलचित्र प्रोडक्शनको ब्यानरमा निर्माण भएको ‘नमेटिने घाउ’मा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन, ओम सुनारको संगीत तथा किरण ढकालको द्वन्द्व निर्देशन रहेको छ । चलचित्र कृष्ण जन्माष्टमीको अवसर पारेर आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउँदैछ ।


