काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरू सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन् ।
बुधबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न आग्रह गरेका हुन् ।
उपप्रधानमन्त्री पौडेलले सरुवारबढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरे । सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भए पनि निरीह र कमजोर हुने बताए ।
उनले भने," पोस्टिङ जस्ता विषयमा अन्यथा भयो भने मर्यादित ढंगले आफ्ना तर्कहरु राख्नुहोला । सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भएपनि उनीहरु वास्तवमा निरीह र कमजोर हुन पुग्छन् । उनीहरु राष्ट्रको सेवा भन्दा पनि जसको सोर्समा पदस्थापन, बढुवा, सरुवा हुन्छन्, उनीहरु अनुगृहीत हुने स्थिति सिर्जना हुन्छ । त्यो बाटो नहिँड्नु होला ।"



