काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।
शनिवार ललितपुरमा आयोजित पार्टी निकट इन्जिनियरहरूको भेलामा बोल्दै उनले काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताएका हुन् ।
उनले नेपाल इन्जिनियर्स एशोसिएशनको निर्वाचनमा जित हासिल हुनेगरी तयारी गर्न पनि पार्टी निकट इन्जिनियरहरूलाई निर्देशन दिए । आगामी भदौ २८ गते ललितपुरमा सो निर्वाचन हुँदैछ । सभापति देउवाले सो निर्वाचनमा पार्टी समर्थित इन्जिनियरहरूले जित्नुपर्ने धारणा राखे ।
उनले भने,"अहिले तपाईँहरू आपसमा मिलेर जानुस । भरसक तपाईँहरू मिलेर जानु बेस हुन्छ । भोलिको चुनावमा नेपाली काँग्रेसमा समर्थित साथीहरूले यो चुनावमा जित्नुपर्छ भन्ने हाम्रो धारणा छ । सहमति हुन सकेन भने पनि स्वस्थ प्रतिस्पर्धात्मक तरिकाले मित्रवत् रुपमा चुनाव गर्नुस् । र भोलि आउने चुनौतीहरूमा नेपाली काँग्रेस पार्टी छ । यो डमोक्रेटिक पार्टी हो । त्यसले यो इन्जिनियर्सजस्तो संस्थाहरूमा नेपाली काँग्रेस समर्थित साथीहरू छन् । अझ बढी यसलाई बलियो बनाएर काँग्रेस समर्थितलाई ल्याएर भोलीका भविष्यको राजनीतिमा सम्पूर्ण प्राविधिक क्षेत्रमा नेपाली काँग्रेसको विजय होस् भन्ने कामना गर्न चाहन्छु ।"
सभापति देउवाले सो एशोसिएशनको निर्वाचनमा जित हासिल गर्नका लागि आन्तरिक रुपमा एकताबद्ध भएर अघि बढ्न पनि पार्टी निकट इन्जिनियरहरूको ध्यानाकर्षण गराए ।



