काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
मंगलबार बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो । केन्द्रीय अनुशासन समितिको प्रतिवेदनका आधारमा केन्द्रीय समितिबाट निर्णय गरेको रास्वपाले जनाएको छ ।
ढकाललाई रास्वपाले स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।
ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए । ढकालले रास्वपालाई दिएको जवाफ स्पष्टीकरण नभई कुण्ठा व्यक्त गरिएको बताइएको छ ।
२५ असारमा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । ३५ दिन भित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधि दिइए पनि ढकालले पुरावेदन गरेनन् ।



