काठमाडौं । आजदेखी एन्फा महिला लिग सुरु हुदैछ ।
आईतवारदेखि शुरू हुने एन्फा महिला लिगको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिकाले प्रतिष्पर्धा गर्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ(एन्फा) ले शनिवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै लिगको तयारी पूरा भएको जानकारी दिएको हो । वालिङ र कोशी प्रदेशबीचको उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नै हुने भएको छ ।
कोशीले छनोट चरण पार गरे एन्फा लिग खेल्न लागेको हो । एन्फाले प्रतियोगिताको उद्घाटन खेलमा निशुल्क प्रवेश दिने भएको छ । लिगमा तीन विभागीयसहित कुल १० टोलीले प्रतिष्पर्धा गर्दैछन् ।
विभागीय टोली त्रिभूवन आर्मी फुटबल क्लब, एपिएफ, नेपाल पुलिस क्लवका साथै ‘ए’ डिभिजन क्लव संकटा, बाग्मती युथ क्लव, दुई स्थानीय निकाय वालिङ्ग नगरपालिका र चन्द्रपुर नगरपालिका, तथा सुदूरपश्चिम र कर्णाली प्रदेशले चुनौती प्रश्तुत गर्नेछन् ।
कोशी, सुदूरपश्चिम र कर्णाली एन्फा महिला लिग छनोटमा शिर्ष तीनमा रहँदै एन्फा लिगका लागि छनोट भएका टोली हुन् । १० टिमबीच सिंगल राउण्ड रोविनको आधारमा ४५ खेल हुनेछन् ।
यसपछि यहाँबाट उत्कृष्ट पाँच टोली छानिने छन् र ती टोलीबीच डबल राउण्ड रोबिनका आधारमा सुपर लिगमा २० खेल हुनेछन् ।
सुपर लिगबाट पनि उत्कृष्ट चार टोलीबीच क्वालिफायर र इलिमिनेटर गरी चार खेल हुने एन्फाले जनाएको छ । यसबीच एन्फाले यो लिगभर ६९ खेल हुने उल्लेख गरेको छ । शनिवारको खेल भने दशरथ रंगशालामा गर्ने योजनामा रहेको एन्फाले जनाएको छ ।
लिग विजेताले १० लाख, उपविजेताले पाँच लाख, उत्कृष्ट खेलाडीले एक लाख, फेयर प्ले टिमले नगद एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलका प्लेयर अफ दी म्याचले नगद पाँच हजार रुपैयाँ पाउने एन्फाले उल्लेख गरेको छ ।
यो लिगका लागि अनुमानि दुई करोड २४ लाख, ६८ हजार ६ सय ९८ रुपैयाँ खर्च हुने एन्फाको अनुमान छ । लिगमा सहभागी अधिकांश टोलीले वर्षाका कारण राम्रोसँग तयारी गर्न नपाएको बताएका छन् ।



